राज्यले सार्वजनिक नीति मार्फत् अभिव्यक्त गरेका इच्छा तथा प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्न प्रयोग गर्ने माध्यम निजामती सेवा हो । यो आधुनिक राज्यको स्थायी कार्यकारिणी हो । Herman Finer ले निजामती सेवालाई स्थायी, तलबी एवम् सीपयुक्त कर्मचारीहरूको व्यावसायिक समूहका रुपमा प्रस्तुत गरेका छन् । वास्तवमा निजामती सेवा सामान्यतया सरकारी कोषबाट तलब भत्ता पाउने, विशिष्ट ज्ञान, सीप र क्षमता भएका राजनैतिक रूपमा तटस्थ, नागरिक सेवामा समर्पित, स्थायी प्रकृतिका प्राविधिक एवं अप्राविधिक दुबैखाले कर्मचारीहरूको पेशागत समूह हो । गैरसैनिक कर्मचारीहरुको समूह हुनु र योग्यता प्रणालीलाई आत्मसात गर्नु नै निजामती सेवाको प्रमुख विशेषता हो । यस सेवामा सेवाको सुरक्षाको कानुनी प्रत्याभूति गरिएको हुन्छ ।
नेपालको संविधानले “सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनी ऐनद्वारा तोकिएको अन्य सेवा वा पद बाहेक नेपाल सरकारका सबै सेवा वा पदलाई निजामती सेवा वा पद मानिनेछ” भनी परिभाषित गरेको छ । र, नेपालको निजामती सेवा गैरसैनिक चरित्रको भएको प्रस्ट पारेको छ । त्यस्तै संविधानमा “निजामती सेवाको पदमा नियुक्तिको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोकसेवा आयोगको कर्तव्य हुनेछ” भन्ने उल्लेख गरेर निजामती सेवामा उत्तमहरु मध्येका उत्तम (Best among the best) व्यक्तिहरुको छनौट गर्ने जिम्मेवारी लोकसेवा आयोगलाई प्रदान गरिएको छ । साथै निजामती सेवाको निवृत्तिभरण पाउने पदमा लोकसेवा आयोगको परामर्श विना स्थायी नियुक्ति गर्न नसकिने संवैधानिक व्यवस्था गरिएको छ । निजामती कर्मचारीलाई विभागीय कारवाही गर्दा आयोगको परामर्श लिनुपर्ने, निजामती सेवाका सर्त बनाउँदा वा संशोधन गर्दा आयोगको परामर्श आवश्यक पर्ने जस्ता प्रावधानहरुले गर्दा लोकसेवा आयोगलाई निजामती कर्मचारीको संरक्षकको रुपमा समेत हेर्ने गरिन्छ । वास्तवमा लोकसेवा आयोगलाई योग्यता प्रणालीको संरक्षक र निश्पक्ष एवम् पवित्र स्वायत्त निकायका रुपमा लिने गरिन्छ ।
लोकसेवा आयोगले कार्यतालिका बनाएर विभिन्न परीक्षाहरु संचालन गर्दै आएको छ । यसको वार्षिक कार्यतालिका हाम्रो Website को डाउनलोड मा हेर्न सक्नुहुनेछ ।
लोक सेवा आयोगको विभिन्न पदको परीक्षाहरुको पाठ्यक्रमको लागि हाम्रो Website को Course of Study Menu मा हेर्न सक्नुहुनेछ ।